काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित दर्ता गराएको छ।
मंगलबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि १२७ रनको जित निकाल्यो। जारी प्रतियोगितामा कर्णालीले ५ खेलमा २ जित निकाल्दा कोशी भने ६ मध्ये ५ खेलमा पराजित भइसकेको छ।
मंगलबार कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ९१ रनमा अलआउट भयो। कोशीका लागि ओपनर चिराग साहले सबैभन्दा बढी २५ रन बनाए।
बलिङमा कर्णालीका सुनील धमला र दीपेन्द्र रावतले ३-३ विकेट लिए। दिवान पुनको नाममा २ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्तीको नटआउट ८८ रनको मद्दतमा ९ विकेटको २१८ रन बनायो।