सुदूरपश्चिमद्वारा लुम्बिनी पाँच विकेटले पराजित


काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

एक्ट्राटेक ओभलमा बुधबार सुदूरपश्चिमले लुम्बिनी प्रदशेविरुद्ध पाँच विकेटको जित निकाल्यो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा चार अंक जोडेको छ । पराजित लुम्बिनीको समान खेलबाट आठ अंक छ ।

लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाए ।

छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरे । लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्यो । लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चौथो विकेटका लागि देव र प्रज्वलले ७६ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि हेमन्त धामीले चार तथा सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान दुई विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको