काठमाडाैँ । मन्डिखाटार दोस्रो एमेच्योर टोनिस प्रतियोगितामा वरिष्ठ राजनीतिज्ञ कमल थापा सिंगल्स र डबल्स दुवै इभेन्टको फाइनलमा प्रवेश गरेका छन्।
मन्डिखाटार टेनिस कोर्टमा विहीबार ६५ वर्ष माथिको सिंगल्समा ध्रुव घलेललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। उनले ६–२, ६–२ को अंकमा जित निकालेका थिए।
यसैगरी कर्मा घलेले पनि फाइनलमा स्थान बनाए। घलेले वाल्टर स्मिथलाई ६–३, ६–४ को स्कोरमा स्तब्ध पारेका हुन्। उपाधिका लागि घले र थापा भिड्ने छन्।
यही उमेर समूहको डबल्समा पनि कमल थापा र छाम्बा ढुन्डुपको जोडीले ध्रुव घले र कर्मा घलेको जोडीलाई ६–१, ६–० को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
यसैगरी, ५५ वर्ष माथिको सिंगल्समा मनोज शाहले राजु राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। पहिलो सेट ६–१ ले मनोजले वाजी मारेका थिए। दोस्रो सेट ३–१ भएका बेला राजु राई रिटायर्ड हट भए पछि नतिजा मनोजको पक्षमा गएको हो। जीवन घिमिरेले सुशिल पाण्डेलाई ६–१, ६–१ को स्कोरमा पराजित गर्दै सेमिफाइन्लमा स्थान बनाउँदा विमल वाइवा र प्रताप मोक्तानबीचको खेल भने वर्षाका कारण स्थगित भएको थियो। यही उमेर समूहमा उत्तम बोगटीले प्रदीप शाहबाट वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाए।
५५ वर्ष माथिकै डबल्समा हिमाल शाह र शिव सेढाईको जोडीले सुनिल गुरुङ र नवाङ लामाको जोडीलाई पराजित गर्दा मनोज शाह र सन्जीव श्रेष्ठको जोडीले सागर केसी र राम राणाको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
४५ वर्ष माथिको डबल्समा धर्म सिंह लामिछाने र गोपी भट्टराईको जोडीले आशिष सिग्देल र अमित गुरुङको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनायो। यहीँ उमेर समूहको महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठ तथा विमल वाइबा र निमा लामाबीचको खेल भने वर्षाका कारण स्थगित भयो। ३५ वर्ष माथिको उमेर समूहमा भिष्म जंग गुरुङले नविन श्रेष्ठलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्। उनले दुवै पटक ६–२ को समान स्कोरमा पराजित गरेका हुन्। यसैगरी सिमान्त गुरुङले दीप राणालाई ६–४ र ६–२ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाए। यो इभेन्टमा दुवै गुरुङ उपाधिका लागि खेल्ने छन्।
यही इभेन्टमा मनोज राणा र डिगेन्द्र गिरीको जोडीले इब्राहिम र करिमको जोडीलाई पराजित गरेको थियो। दीप जवरा र देव क्षेत्रीको जोडीले निमा लामा र एमपी गिरीलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको छ।


