काठमाडौं । च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार सम्पन्न खेलमा च्यासलले नयाँबस्ती युवा क्लबमाथि ४ २को जित निकालेकाे हाे।
च्यासललाई जित दिलाउन निरज कार्की, सुवास बम ठकुरी र कुशल देउवाले गोल गरे। च्यासलले एक गोल आत्मघाती उपहारस्वरुप पायाे। नयाँबस्तीका लागि पूर्णबहादुर गुरुङ गाेल गरे।
खेलको १०औं मिनेटमा निरजको गोलमार्फत च्यासलले अग्रता लिएको थियो। आठ मिनेटपछि नै निमा वाङ्गेल तामाङबाट आत्मघाती गोल हुन पुग्दा च्यासलको अग्रता दोब्बर बन्यो।
सुवाले २३औं मिनेटमा च्यासलका लागि तेस्रो गोल गरे। दुई मिनेटपछि नै पूर्णले नयाँबस्तीका लागि एक गोल फर्काए।
कुशलले ७८औं मिनेटमा गोल गर्दा च्यासलको अग्रता ४१ मा पुग्यो। ८९औं मिनेटमा जामिन लक्समले नयाँबस्तीका लागि दोस्रो गोल गरे।
जितसँगै च्याललले ९ खेलमा १४ अंक जोडेको छ। पराजित नयाँबस्ती समान खेलबाट आठ अंकका साथ १०औं स्थानमा यथावत छ।


