काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ । योसँगै दुवै टिमले १-१ अंक बाँडेका छन् ।
थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायरमा भिजेको मैदानको कारण टस नहुँदै खेल रद्द भएको हो । हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । खेल बिहान ८:४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।
क्वालिफायरमा नेपाल सहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।
समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आ-आफ्नो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन् । समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउने छ । सुपर थ्रीबाट लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।