एनपिएल : पुछारको काठमाडौं र शीर्ष स्थानको कर्णाली खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आज शीर्ष स्थानको कर्णाली याक्सले अंक तालिकाको पुछारमा रहेको काठमाडौं गोर्खाजसँग खेल्दैछ ।

कर्णाली र काठमाडौंबीच आजको पहिलो खेलमा दिउँसो १२ः३० मा खेल हुदैछ । कर्णाली सुरुआती दुवै खेलमा जित हासिल गरेर तालिकाको शीर्ष स्थानमा छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

काठमाडौं भने सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । सिजनको दोस्रो खेल खेल्दै गरेको काठमाडौं पहिलो जितको खोजीमा छ ।

आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् । चितवन र सुदूरपश्चिमबीचको खेल साँझ ५ बजे हुनेछ । सुदूरपश्चिम मिश्रीत नतिजाका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदा तेस्रो खेलमा विराटनगर किंग्ससँग फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा चौथो खेल खेलिरहेको सुदूरपश्चिमलाई अन्तिम चारमा स्थान बलियो बनाउँन जित आवश्यक छ । पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्ध हुन पुगेको थियो । यस खेलमा जित निकाल्दै चितवन अन्तिम चारमा आफुलाई बलियो बनाउँने छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको