काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ।
होटल रोयल सिङगीमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवद्र्धन गर्न यी दुवै संस्थाले आ-आफ्नो दायरा भित्र रहेर सहकार्य गर्दै आएको छ, भन्नुभयो। उहाँले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबिचको सीमाङ्कन ‘क्लियर’ गरेर नेपाली खेलकुदलाई स्थापित गर्नुपर्ने भनाइ पनि राख्नुभयो।
अध्यक्ष श्रेष्ठले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढीरहेको भन्दै नेपाली खेल पत्रकारहरुको प्रशंसा पनि गर्नुभयो।
यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंमता र अदुदर्शीताले नेपाल खेलकुद समस्या रहेको र खेलाडीको भविष्य अन्यौलमा परेको बताउनुभयो।
उहाँले आफूहरु सरकार विरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरुको हकहितका लागि काम गर्न चाहन्छौँ र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा छ, भन्नुभयो।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था हो भन्नुहुँदै यी दुई संस्थाको सहकार्यको शृङखला लामो भएको बताउनुभयो। उहाँले नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्राष्ट्रिय मायन्ताप्राप्त ओलम्पिक कमिटीसँग सँधै सहकार्य गर्दै आएको र विगतमा यस्तै समस्याले नेपालको अन्तर्राष्ट्रिय सहभागिता अन्यौलमा परेको बेला एनएसजेएफले पहलकदमी गरेको स्मरण गर्नुभयो।
अध्यक्ष अधिकारीले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरु अझ क्षमतावान बनाउन आफ्नो प्रयास रहने भनाई पनि राख्नुभयो।


