राष्ट्रिय आइटिएफ तेक्वान्दो : निशान र विजयलाई स्वर्ण


काठमाडौं। कर्णाली प्रदेशका निशान रोक्का र लुम्बिनी प्रदेशका विजय कुँवरले २५औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता तथा दोस्रो यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जुनियर पुरुष २०–२५ केजी तौलसमूहमा कर्णालीका निशान र २५ देखि ३० केजी तौलसमूहमा लुम्बिनीका विजयले स्वर्ण जिते।

निशानको तौलसमूहमा लुम्बिनीका संगम घर्तिमगरले रजत तथा मधेशका अन्सुमन दर्लामी र बागमतीका संस्कार खड्काले कांस्य पदक पाए। विजयको तौलसमूहमा गण्डकीका सोमराज भुजेलले रजत तथा कर्णाली शिशिर खड्का र बागमतीका यबेश बुढाथोकीले संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा भएको प्रतियोगितामा ३०–३५ केजीमा बागमतीका सुमन लामा र ३५ देखि ३० केजीमा बागमतीकै मनीष बरामले स्वर्ण पदक जिते।

प्रतियोगिताको राखेपका सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप कार्यकारी समितिका सदस्य कमबहादुर भट्टराई, राखेपका पूर्व सदस्य तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पूर्वअध्यक्ष अञ्जन धमलालगायतको उपस्थित थिए।

प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी पाँच विधा समावेश छन्। त्यसमा राष्ट्रियमा ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त भइरहेको छ। यु–१५ मा २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन्। पहिलो दिन राष्ट्रियमा पुरुषमा ६ र महिलामा पाँच स्वर्णको टुंगो लाग्यो। यु–१५ को पुरुषमा १० र महिलामा सात गरी १७ स्वर्णको छिनोफानो भएको छ। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको