
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई पराजित गर्दै फाइनलको लागि तयारी पूरा गरेको छ ।
यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको गोल्डेनगेटले सामाखुशीलाई ८२–५८ ले पराजित गरेको हो ।
लिग चरणमा गोल्डेनगेटको यो लगातार नवौँ जित हो । ६ टोली सम्मिलित लिग डबलराउण्ड रोविनका आधारमा सञ्चालन भएको थियो । जसमा टाइम्स बास्केटबल क्लबलसँग पहिलो खेलमा पराजित भएको गोल्डेनेगटले त्यसपछि सबै खेल जितेको हो । गोल्डेनगेट १० खेलमा ९ जित र १ हारबाट १९ अंक जोड्दै लिगमा शीर्ष स्थानमा रह्यो । गोल्डेनगेटले लिगमा दोस्रो भएको टाइम्ससँग उपाधिका लागि फाइनल खेल खेल्नेछ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डनेगेटले चारै क्वाटरमा अग्रता बनाएको थियो । पहिलो क्वाटरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेटले दोस्रो क्वाटर २७–१६ ले आफ्नो पक्षमा पारेको थियो ।
यस्तै गोल्डनेगेटले तेस्रो क्वाटर २२–१५ र चौथो क्वाटर १७–१३ ले आफ्नो पक्षमा पार्द सहजै खेल जितेको हो ।
गोल्डेनेगटका विकेट श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । विवेकले १४ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले १७ अंक स्कोर गरे ।