
काठमाडाैँ। साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को आयोजनमा एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा ५० टिमको सहभागिता रहने आयोजकका क्याम्पस चिफ डा. राजेन्द्र केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिम सहभागी हुने छन्। ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।
दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगदसहित प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि पाउने प्रोग्राम डाइरेक्टर गणेश महराले जानकारी दिए। विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पाउने छन्। उपविजेतालाई ४० प्रतिशत तथा सहभागी हरेक खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले बताइन्। दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजकको कोर्टमा खेलाइने छ।