काठमाडौं। ११औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा स्वर्ण पदक विजेता जुनी राईलाई नेपाल प्रहरीले बिहीबार सम्मान गरेको छ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको छवि उचो बनाउन उल्लेखनीय योगदान दिएको र अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो महिला प्रहरी बनेकोमा प्रहरी नायब निरीक्षक (सइ) जुनी राईलाई प्रशंसा पत्र प्रदान गरे। यो सम्मान नेपाल प्रहरी मुख्यालय, नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलनको अवसरमा प्रदान गरिएको हो।
हाल नेपाल प्रहरी क्लबको प्रशिक्षकको भूमिकामा रहेकी जुनीले महिलातर्फको ५६ केजी सान्साउमा श्रीलङ्काकी प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।
“सधैं हरेक सजिला र कठिन समयमा साथ दिएको संस्थाबाट आज सम्मान पाउनु मेरो लागि गर्वको क्षण हो,” जुनीले भनिन्। “यस सम्मानका लागि म निकै आभारी छु र प्रशिक्षकको भूमिकामा रहेर नेपाल प्रहरीलाई देशकै उत्कृष्ट टोली बनाउन कुनै कसर बाँकी राख्ने छैन।”


