काठमाडाैँ। मंगलबार राति विश्वकप छनोटको समूह ‘के’ अन्तर्गत सम्पन्न खेलमा इङ्ल्यान्डले लाट्भियालाई ५–० गोलले पराजित गरेको हो।
कप्तान ह्यारी केनले दुई गोल गरे भने एन्थोनी गार्डन र एबेरेची इजेलाईले एक–एक गोल जोडे। अर्को गोल आत्मघाती थियो। ६ खेलमै लगातार जित निकाल्दै १८ अंकसहित इङ्ल्यान्डले विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरेको हो।
यससँगै इङ्ल्यान्डले लगातार आठौं विश्वकपमा सिधा प्रवेश पाएको छ। खेलमा इङ्ल्यान्डले सुरुदेखि अन्त्यसम्म दबदबा जमायो। टमस टुचेलको प्रशिक्षणमा रहेको टोलीलाई २६औं मिनेटमा गार्डनले अग्रता दिलाए।
उनले जन स्टोन्सको पासबाट बल लिएर जाली चुमाए। त्यसपछि केनले ४४औं र इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै पहिलो हाफमै इङ्ल्यान्डलाई ३–० को अग्रता दिलाए।
दोस्रो हाफको ५८औं मिनेटमा लाट्भियाका डिफेन्डर म्याक्सिम्स टनिसेव्सले आत्मघाती गोल गरे। अन्तिम ८६औं मिनेटमा इजेले अन्तिम गोल गर्दै स्कोर ५–० बनाए।
उक्त रात युरोप क्षेत्रबाट पोर्चुगललाई पनि विश्वकप सुनिश्चित गर्ने मौका थियो। तर, इन्जुरी टाइममा हंगेरीविरुद्ध गोल खान पुग्दा खेल २–२ को बराबरीमा सकियो र पोर्चुगलले अवसर गुमायो।


