पुलिसलाई हराउँदै झापा फाइनलमा


काठमाडौं। विराट गोल्डकपको ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित शहीद मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो।

झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औं मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो।

यस जितसँगै झापाले १० वर्षअघिको बदला समेत लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै हराउँदै उपाधि जितेको थियो। १० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो।

खेलको प्यलेर अफ द म्याद झापा ११ का स्वलोमन किङ घोषित भए। उनले नगद ११ हजार पाए। खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो।

झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोट्र्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोट्र्सले भारतको बिरसामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको