काठमाडाैँ। काप्तान सावित्रा भण्डारी साम्बाकाे दुई गोलको मदतमा नेपालले त्रिदेशीय कपमा घरेलु टाेली भारतमाथि जित हासिल गरेकाे छ।
सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेकाे हाे। यससँगै नेपाली राष्ट्रिय महिला टिमले इरान पनि सम्मिलित प्रतियोगिताबाट सुखद अन्त्य लिएको छ। नेपालको दुई खेलबाट तीन अंक भएको छ भने भारत भने शून्य अंकमै रह्यो।
सिलोङको जवाहरलाल नेहरु स्टेडियममा सावित्राले दोस्रो मिनेटमा पहिलो गोल गरिन्। दीपा शाहीको लामो पासमा उनले गोलको खाता खोलेकी हुन्। उनले ६२ औं मिनेटमा फ्रि–किकबाट उत्कृष्ट दोस्रो गोल गरिन्।
यससँगै भारतविरुद्ध सावित्राको व्यत्तिगत गोल संख्या १० पुगेको छ। नेपालका लागि ५९ खेलमा उनले गरेको गोल संख्या ६८ पुगेको छ। भारतका लागि करिष्मा पुरुषोत्तमले ८२औं मिनेटमा एक गोल फर्काइन्। भारतले सन् २०१९ यता नेपाललाई हराउन सकेको छैन्।