काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडीबीच चार वर्षपछि सुरु हुने ‘ए’ डिभिजन लिगको आयोजनालाई लिएर उत्पन्न विवाद समाधानको प्रयास सुरु गरेको छ। सडकमा प्रदर्शनमा उत्रिएका खेलाडीलाई एन्फाले सोमबार वार्तामा बोलाएको हो।
एन्फा प्रवक्ता सुरेश शाहले भने,‘सडक प्रदर्शनमा व्यक्त माग, ए डिभिजन तथा राष्ट्रिय लिगसँग सम्बन्धित कुरालाई संवादमार्फत सम्बोधन गर्ने उद्देश्यले वार्ता बोलाइएको छ।’
गत कार्तिक १७ गते एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीच भएको बैठकले ३ पुस २०८३ देखि लिग सञ्चालन गर्ने सहमति गरेको थियो। यसको सट्टामा आगामी पुस ९ गते राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेपछि शीर्ष डिभिजन लिग चार वर्षपछि मात्र सुरु हुने सम्भावना देखिएको थियो। यसै कारण खेलाडीहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बाहिर विरोध प्रदर्शन गर्दै आफ्नो माग राखेका थिए।
खेलाडीहरू प्रदर्शनका क्रममा आफ्नो माग पूरा नगरे कडा संघर्ष उत्रिने चेतावनी दिएका थिए। त्यसको तीन दिनपछि मात्रै एन्फाले वार्ता बोलाएको हो।
पछिल्लो ‘ए’ डिभिजन लिग २०७९ मा आयोजित थियो। उक्त संस्करण चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो। त्यसयता लिग नियमित रूपमा लिग सञ्चालन भएको छैन।
एन्फाले हाल शीर्ष डिभिजनका ६ क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो युथ र न्यूरोड टिमलाई समेटेर राष्ट्रिय लिग आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।
साथै, हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट चार क्लबले पनि राष्ट्रिय लिगमा सहभागिता जनाउने छन्।


