काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको पाँचौ खेलमा लुम्बिनीले टस जितेर बलिङ रोजे पछि चितवनले पहिले ब्याटिङ गरेको थियो । चितवनले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनायाे।
चितवनका लागि रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले। प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो। पहिलो खेलमा बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए। एनपिएलको इतिहासमा भने बोपाराको यो पाँचौ अर्धशतक हो।
चितवनका कप्तान कुशल मल्लले १८ बलमा १ छक्काको सहयोगमा २१ रन बनाउँदै आउट भए। पहिलो खेलमा कर्णालीविरुद्ध पनि खास सुरुवात दिन नसकेका डाविड मिलान यस खेलमा सामना गरेको पहिलो बलमा नै आउट भए। अर्का ओपनर दिपक बोहोरा १० तथा देव खनाल १४ रनमा आउट भए।
देव खनाल १४ रनमा पेभिलियन फर्कदा सैफ जेबले ७ बलमा १५ रन जोडे। यस संस्करणको पहिलो खेल खेल्दै गरेको लुम्बिनीका लागि रुबेन ट्रम्पनम्यानले ३ तथा अभिषेश गौतम र गुलबदिन नैबले समान २ विकेट लिए।
पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवन जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ। भने, सिजनको पहिलो खेल खेल्दै गरेको लुम्बिनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ।


