इनलमा प्रवेकाठमाडौं। अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै कोशी प्रदेश नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम आठमा पुग्ने कोशी अन्तिम टोली बनेको हो। यससँगै पुरुषतर्फको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्यो। यो जितसँगै कोशी समूह उपविजेता बनेको हो।
कोशी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। आर्मी समूह विजेता बन्दै अन्तिम आठमा प्रवेश गर्दा कीर्तिपुर भने जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
क्वार्टरफाइनलमा कोशीले समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले समूह चरणमा ढोरपाटन क्लब र खिल्जी युवा क्लबलाई पराजित गरेको थियो।
यद्यपि नतिजा ३–० भए पनि कीर्तिपुरले कोशीलाई कडा चुनौती दिएको थियो। तीनवटै सेट प्रतिस्पर्धात्मक बने।
कोशीले पहिलो सेट २५–२३ ले जित्यो। दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको कोशीले तेस्रो सेट पनि २५–२३ ले जित्दै खेल समाप्त गर्यो।


