बेनिघाट रोराङमा राष्ट्रपति रनिङ शिल्डसहित विविध खेलकुद प्रतियोगिता आयोजना हुने


काठमाडौं। बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा साताैं राष्ट्रपति रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। गाउँ शिक्षा समिति तथा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिताअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप बृहत् खेलकुद, छैटौं मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता समावेश गरिएका छन्।

प्रतियोगिताको उद्घाटन समारोह पुष ३० गते बिहान ११:०० बजे हुने छ भने समापन समारोह माघ ५ गते हुने कार्यक्रम तय गरिएको छ। सम्पूर्ण कार्यक्रम चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारको खेलमैदानमा आयोजना हुनेछ।

उद्घाटन समारोहको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुने आयोजकले जनाएको छ। उद्घाटन अवसरमा विद्यालयगत मार्चपास तथा र्‍याली प्रस्तुत गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताले स्थानीय खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवालाई सकारात्मक र अनुशासित गतिविधितर्फ प्रेरित गर्ने विश्वास लिइएको गाउँ शिक्षा अधिकारी बोधराज पाठकले बताए।

यसैबीच, प्रतियोगितामा सहभागी विद्यालयहरूको खेलकुद तयारी तथा व्यवस्थापनका लागि राजमार्ग आसपासका विद्यालयलाई ४५ हजार रुपैयाँ र राजमार्गदेखि टाढा रहेका विद्यालयलाई ५० हजार रुपैयाँ खेलकुद व्यवस्थापन खर्च प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलले जानकारी दिए।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले खेलकुदले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक ऊर्जातर्फ डो¥याउने बताउँदै बेनीघाट रोराङलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको