काठमाडौँ। जाबी अलोन्सोले रियल मड्रिडको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। स्पेनिस सुपर कोपाको फाइनलमा कट्टर प्रतिद्वन्द्वी बार्सिलोनासँग ३–२ को पराजय बेहोरेसँगै उनले क्लब छाड्ने निर्णय गरेका हुन्।
रियलले आपसी सहमतिमा अलोन्सोले प्रशिक्षक पद त्यागेको आधिकारिक जानकारी दिएको छ। क्लबको अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि दुवै पक्षबीच सहमति बनेको जनाइएको छ।
अलोन्सो २०२५ को जुन महिनामा मात्र रियल मड्रिडको प्रशिक्षक बनेका थिए। यसअघि जर्मन क्लब बायर लेभरकुसेनमा ऐतिहासिक सफलता हासिल गरेका उनले रियल मड्रिडमा भने त्यो लय कायम राख्न सकेनन्।
अलोन्सोको बहिर्गमनसँगै रियल मड्रिडले तत्कालै अल्भारो अर्बेलोआलाई नयाँ मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। ४२ वर्षीय अर्बेलोआ रियलका पूर्व खेलाडी हुन्। उनले सन् २००९ देखि २०१६ सम्म क्लबको जर्सीमा खेल्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


