काठमाडौं। बार्सिलोनाले कोपा डेल रे अन्तर्गत अन्तिम १६ को खेलमा दोस्रो डिभिजनको शीर्ष टोली रेसिङ सान्टान्डरलाई २–० गोल अन्तरले पराजित गरेको छ।
बिहिबार सम्पन्न खेलमा संघर्षपूर्ण पहिलो हाफपछि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।
बार्सिलोनाका सुरुवाती रोजाइका खेलाडी मार्कस रासफोर्ड र डानी ओल्मोले गोलका लागि केही प्रयास गरे पनि सान्टान्डरका गोलकिपर जोकिन एज्किएटा बाधक बनेका थिए।
खेलको ६६औं मिनेटमा बार्सिलोनाले अग्रता लियो। फर्मिन लोपेजको उत्कृष्ट पासमा फेरान टोरेसले प्रहार गर्दै गोल गरे।
खेलको अन्तिम समयमा सान्टान्डरले बराबरी गोल फर्काउन निकै प्रयास गरेको थियो। ९०औं मिनेट पछिको इन्जुरी समयमा सान्टान्डरका म्यानेक्स लोजानोले गरेको प्रहार बार्सिलोनाका गोलकिपर जोन गार्सियाले बचाएका थिए।
खेलको इन्जुरी समयको पाँचौं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। राफिन्हाको पासमा लामिन यमालले नजिकैबाट गोल गर्दै बार्सिलोनाको २–० को जित सुनिश्चित गरे।
खेलमा बार्सिलोनाका फर्मिन लोपेज र सान्टान्डरका मार्को सांगाली, इनिगो भिसेन्टे लगायतका खेलाडीले पहेँलो कार्ड पाएका थिए। यो जितसँगै बार्सिलोनाले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।


