काठमाडौं। नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आइतबार चीन युनान युथ महिला टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। उक्त मैत्रीपूर्ण खेल जनवरी ३१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय छ।
यसअघि उनकै प्रशिक्षणमा नेपाली महिला टोलीले बंगलादेशमा साफ यु–२० च्याम्पियनसिप खेलेको थियो। उक्त प्रतियोगितामा टोली उपविजेता बनेको थियो।
गुरुङलाई सहायक प्रशिक्षकका रूपमा सन्देशकुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी तथा टोली व्यवस्थापकका रूपमा दीपा क्षेत्रीले साथ दिनेछन्।


