बेनी निलोले जित्यो थकाली युवा फुटसल कपको उपाधि


पोखरा। थकाली युवा परिवार नदिपुरको आयोजनामा सम्पन्न थकाली युवा फुटसल कपको उपाधि बेनी निलोले जितेको छ।

शनिबार पोखरा मल्टी–पर्पोज हल रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा बेनी निलोले दरबाङलाई २–० गोलले पराजित गर्दै उपाधि उचाल्यो। दरबाङ उपविजेतामा सीमित रह्यो।

पुरुषतर्फको सेमिफाइनलमा दरबाङले पोखरा ‘ए’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने अर्को सेमिफाइनलमा बेनी निलोले पोखरा ‘बी’ लाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

महिलातर्फको उपाधि भने काठमाडौं टोलीले जित्यो। फाइनल खेलमा काठमाडौंले पोखरालाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो।

विधागत पुरस्कारतर्फ पुरुषतर्फ बेनी निलोका शुसान शेरचन उत्कृष्ट खेलाडी घोषित भए भने दरबाङका तेजेन्द्र भट्ट चन उत्कृष्ट गोलकिपर बने। प्रतियोगितामा चार खेलाडीले समान ३–३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि संयुक्त रूपमा जिते।

महिलातर्फबाट युसिन शेरचन उत्कृष्ट खेलाडी घोषित भइन्। यी सबैले समान ५–५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ३ टिम सहभागी थिए। पोखरासहित काठमाडौं, बुटवल, बेनी, दरबाङ तथा मुस्ताङ जिल्लाको थसाङ क्षेत्रका टिमहरूको सहभागिता रहेको थियो।

पुरुषतर्फ विजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ हात पारे। महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा समापन समारोहका प्रमुख अतिथि पूर्व सांसद प्रेम तुलाचन रहेका थिए भने कार्यक्रमको अध्यक्षता थकाली युवा परिवार नदिपुरका अध्यक्ष इन्जिनियर अनुज शेरचनले गरेका थिए। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको