नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दै


काठमाडौं। आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ।

पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा बलियो प्रस्तुति दिने लक्ष्यमा छ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १: १५ बजे सुरु हुनेछ।

विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसरसमेत हो। जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेल मुम्बईमा हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको