प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिप सुरु


काठमाडौँ। प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिप मङ्गलबारदेखि जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको छ।

स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपाल र भारतका आठ फुटबल एकेडेमी तथा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का खेलहरू सम्पन्न भएका छन् । समूह चरणको खेलपछि जावलाखेल युथ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने काठमाडौँ किकर्स उपविजेता बनेको छ।

समूह ‘ए’ को पहिलो खेलमा होलिभिजन फुटबल एकेडेमीले डीएभी स्पोर्ट्स एकेडेमीलाई ३–० गोलले हरायो । दोस्रो खेलमा जावलाखेल युथ क्लबले काठमाडौँ किकर्सलाई ३–१ गोलले हरायो।

तेस्रो खेलमा होलिभिजन फुटबल एकेडेमी र जावलाखेल युथ क्लबबिचको प्रतिस्पर्धा ३–३ गोलको बराबरीमा सकियो। चौथो खेलमा काठमाडौँ किकर्सले डीएभी स्पोर्ट्स एकेडेमीलाई ४–३ गोलले हरायो ।

यस्तै पाँचौँ खेलमा काठमाडौँ किकर्सले होलिभिजनलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । समूह चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लबले डीएभीलाई ५–१ गोलले पराजित गर्दै समूह विजेता बन्यो ।

माघ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक डीएभी स्पोर्ट्स एकेडेमीसहित बोलपुर टाउन क्लब ९पश्चिम बंगाल, भारत०, होलिभिजन फुटबल एकेडेमी, काठमाडौँ किकर्स फुटबल एकेडेमी, जावलाखेल युथ क्लब, मारियो ग्रासरुट क्लब, एजी–१० फुटबल एकेडेमी र दिलिप मेमोरियल फुटबल एकेडेमी सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ आयोजकले जनाएको छ । भारत र नेपालबिचको फुटबल सम्बन्ध मजबुत बनाउनुका साथै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको