पीसीएल सुरु


काठमाडाैं। प्याब्सन काठमाडौंको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो दिन बुधबार २ खेल हुनेछ।

तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगिताको पहिलो खेल प्याब्सन बागमती च्यालेन्जर्स र प्याब्सन सुदूरपश्चिम राइजिङबीच हुनेछ। दोश्रो खेलमा आयोजक प्याब्सन काठमाडौं क्यापिटल्सले प्याब्सन गण्डकी इगल्सको सामना गर्ने आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले जनाएका छन्।

प्रतियोगिताको तयारी पूरा भएको प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धनबहादुर पुनले जनाएका छन्। माघ ६ गतेसम्म चल्ने टी–२० प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिम सहभागी छन्।

आयोजकले यसअघि विजेताको ट्रफी, सहभागी टिमको नाम, टिम लोगो, टिमका प्रायोजक, जर्सी र ‘एन्थम’ सार्वजनिक गरिसकेको छ। एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ। ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको