काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट भएका १ सय ४७ नेपाली खेलाडीमा विभागीय टिमले वर्चस्व कायम गरेको छ, जसमा नेपाली सेना (त्रिभुवन आर्मी क्लब), नेपाल प्रहरी (पुलिस क्लब) र सशस्त्र प्रहरी बल (एपीएफ क्लब) का ३५ खेलाडी परेका छन्।
आउने चैत्र महिनामा हुने ड्राफ्टका लागि आर्मी र एपीएफका १२–१२ जना तथा पुलिसबाट ११ खेलाडी छनोट भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ। त्यस्तै, मधेश प्रदेशका २३, लुम्बिनीका २०, बागमतीका १५, सुदूरपश्चिमका १५, कोशीका १४, कर्णालीका १३ र गण्डकीका १२ खेलाडीले ड्राफ्टमा स्थान बनाएका छन्। उनीहरूलाई तीन समूहमा वर्गीकरण गरी ड्राफ्टमा राखिनेछ।
दोस्रो सिजनको लागि स्वदेशी ५ सय १२ खेलाडीले नाम दर्ता गरेका थिए। त्यसबाट १ सय ८० खेलाडीले ‘प्लेयर ट्रायल्स’ ले प्रतिस्पर्धा गरेका थिए। ड्राफ्टको लागि प्लेयर ट्रायल्सबाट १ सय ६ जना खेलाडी छनोट भएका हुन् भने बाँकी ४१ खेलाडी गत माघमा सम्पन्न २५ औं राष्ट्रिय कबड्डी प्रतियोगिताबाट छनोट गरिएको हो। फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन्।
स्वदेशी खेलाडीसँगै ड्राफ्टमा बिदेशी खेलाडी पनि हुनेछन् । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘यसपाली दर्जन बढी देशका उत्कृष्ट खेलाडीले नेपाल आएर एनकेएल खेल्न चाहेका छन् । दर्ता गर्ने क्रम जारी नै छ । त्यसैले ड्राफ्टमा समावेश गरिने बिदेशी खेलाडीको संख्या चाँडै सार्वजनिक गर्नेछौं।’
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग सम्झौता गरेपछि गत वर्ष एनकेएलको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको थियो । संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा ल्याइएको एनकेएलले नेपालमा व्यावसायिक कबड्डीको सुरुआत गरेको हो। अहिले दोस्रो सिजनको तयारी तीब्र गतिमा भइरहेको छ। म्यारियट होटेलमा सोमबार एक कार्यक्रम आयोजना गर्दै एनकेएल सिजन २ घोषणा गर्दैछ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ। पहिलो
सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो।


