काठमाडाैं। घरेलु टोली सम्राट स्पोर्टिङ क्लब ३८औं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सहिद मैदानमा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो।
पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ। अब शनिबार हुने उपाधि भिडन्तमा सम्राटले झापा–११ को सामना गर्नेछ। रात्रिकालीन समयमा भइरहेको प्रतियोगिताको फाइनल खेल पनि शनिबार राति नै हुनेछ।
सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे। खेलको प्यलेर अफ द म्याच सम्राटका सुरुवाती खोल गर्ने सौरभ तामाङ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।
खेलको ५०औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको ७ मिनेटको इन्जुरी समयमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित ग¥यो। इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेट बित्न नपाउँदै इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल गरेपछि सम्राट ३–० ले विजयी भयो।
यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो। अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।


