काठमाडौँ । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ।
लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता हस्ताक्षर समारोहमा बेलायती क्रिकेट जगतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा नेशनल एसियन क्रिकेट काउन्सिल का अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्ड का प्रतिनिधिहरू तथा अन्य क्रिकेट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बीजीसीएल बेलायतमा नेपाली खेलाडीलाई लक्षित ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो लिग हो। पाँच संस्करण सम्पन्न गरिसकेको लिग क्लब क्रिकेट सम्मेलनसँग आबद्ध रहेको छ।
आयोजकले खेल र शिक्षालाई सँगै अघि बढाउने उद्देश्यसहित सहकार्य गरिएको बताएका छन्।


