काठमाडौं। भारत आईसीसी मेन्स टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इडेन गार्डेन्स रंगशालामा आइतबार सम्पन्न खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।।
वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनायो। सञ्जु सामसनले ५० बलमा ९७ रनको अविजित इनिङ खेल्दै जितका नायक बने।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो। रोस्टन चेजले ४० रन र रोभम्यान पावेलले अविजित ३४ रन जोडे। भारतका जसप्रित बुमराहले २ विकेट लिए।
यस जितसँगै भारत सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने भारतले इङ्ग्ल्यान्डको सामना गर्नेछ।


