काठमाडाैं। इन्टर मियामीले एमएलएसमा ओरलान्डो सिटी क्लबलाई ४–२ ले पराजित गर्दै शानदार पुनरागमन जित दर्ता गरेको छ।
खेलको सुरुआतमा ओरलान्डो सिटी क्लबले आक्रामक प्रदर्शन गर्दै १८औँ मिनेटमा मार्को पासालिच र २४औँ मिनेटमा मार्टिन ओहेदाको गोलमार्फत २–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा मियामी पूर्ण रूपमा खेलमा फर्कियो। ४९औँ मिनेटमा मातेओ सिल्भेट्टीले गोल गर्दै अन्तर घटाए। त्यसपछि ५७औँ मिनेटमा लियोनेल मेस्सीले बराबरी गोल फर्काए।
८५औँ मिनेटमा तेलास्को सेगोभियाले निर्णायक गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए। खेलको ९०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे र टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै इन्टर मियामी क्लबले सिजनको पहिलो जित दर्ता गरेको छ।


