तालाबन्दी खोल्न खेलाडी संघलाई एन्फाको आग्रह, अन्यथा फुटबल गतिविधि प्रभावित हुने चेतावनी


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी तत्काल खोल्न नेपाल फुटबल खेलाडी संघलाई आग्रह गरेको छ।

एन्फाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा खेलाडी संघले कुनै पूर्व जानकारी र संवादबिना तालाबन्दी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। एन्फाले आफ्ना मातहतका संस्थासँग वार्ताको ढोका सधैं खुला रहेको भन्दै यस्तो निषेधात्मक कदम फुटबलको हितविपरीत भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा खेलाडी संघले उठाएका मागप्रति एन्फाको धारणा पनि सार्वजनिक गरिएको छ। एन्फाका अनुसार ‘ए’ डिभिजन लिग सञ्चालनका लागि क्लब र खेलाडीबीच निरन्तर संवाद तथा समन्वय भइरहेको र राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र लिग सुरु गर्ने तयारी गरिएको छ। तर, तालाबन्दीका कारण दैनिक प्रशासनिक कामकाज प्रभावित भएकाले कार्यान्वयनमा कठिनाइ भइरहेको संघले जनाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट प्राप्त हुने केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयप्रति संघ प्रतिबद्ध रहेको पनि एन्फाले स्पष्ट पारेको छ। खेलाडीको पुरस्कार, तलब तथा भत्ताका विषयमा भने सम्बन्धित कार्यसमितिले निर्णय गरिसकेको र बाँकी रकम उपलब्ध स्रोतअनुसार क्रमिक रूपमा उपलब्ध गराइने उल्लेख गरिएको छ।

एन्फाले तालाबन्दीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित हुन सक्ने चेतावनी समेत दिएको छ। हाल जारी राष्ट्रिय लिग, एएफसी प्रतियोगिताको तयारी, महिला तथा युवा प्रतियोगितालगायत गतिविधिमा असर पर्न सक्ने संघको भनाइ छ।

यसैबीच एन्फाले खेलाडी संघलाई तालाबन्दी तत्काल खोल्न आग्रह गर्दै संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेको छ। अन्यथा तालाबन्दीका कारण नेपाली फुटबल गतिविधि प्रभावित भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको