काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल साहुखला र चेतकुमार घिमिरे सहायक प्रशिक्षकमा नियुक्त छ।
एन्फाले बालगोपाल साहुखला र चेतकुमार घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हाे। यस्तै, मदनलाल श्रेष्ठ टोली व्यवस्थापकको जिम्मेवारीमा रहनेछन् भने राजीव कुमार यादव सहायक टोली व्यवस्थापक नियुक्त भएका छन्। पंकज शाहीले प्रदर्शन विश्लेषक (परफर्मेन्स एनालिस्ट) को भूमिका सम्हाल्नेछन्।
नियुक्त भएका सबै पदाधिकारीलाई एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र प्रदान गरेका हुन्।
नेपालले यही चैत १३ गते (मार्च २६) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङ, चीनसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।


