महिला लिग : संकटाको विजयी सुरुआत


काठमाडौं। सहिद स्मारक महिला लिगमा संकटा फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ।

ललितपुरको च्यासल रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेलमा संकटाले न्यूरोड टिम ९एनआरटी० लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा दमदार सुरुआत गर्‍यो।

संकटाको जितमा विन थेइङ्गी टुन, सुक्रीया मिया, लुसिया लेइला जोसे र क्विनाबेल अकोसुअले समान एक–एक गोल गरिन्।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको संकटाले पाँचौं मिनेटमै विन थेइङ्गी टुनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि २३औं मिनेटमा सुक्रीया मियाले गोल थप्दै अग्रता दोब्बर पारिन्।

पहिलो हाफ सकिनुअघि नै लुसिया लेइला जोसे मोकम्बिक्वेले २७औं मिनेटमा गोल गर्दै संकटालाई ३–० को सहज अवस्थामा पुर्‍याइन्।

दोस्रो हाफमा पनि संकटाको दबाब कायम रहँदा क्विनाबेल अकोसुअ अमनक्रहले थप एक गोल गर्दै टोलीको जितलाई ४–० मा सुरक्षित बनाइन्।

यो जितसँगै संकटाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोड्दै सुखद सुरुआत गरेको छ भने एनआरटीले हारबाट यात्रा सुरु गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको