काठमाडौं। दशौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको मिति परिवर्तन गरिएको छ।
नेपाल भलिबल संघको आयोजनामा हुने उक्त लिग यसअघि चैत १९ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन गर्ने तालिका रहेको थियो।
तर, प्राविधिक कारणवश प्रतियोगिता सार्नुपरेको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्। अब लिग वैशाख १० देखि १९ गतेसम्म सोही कभर्ड हलमा आयोजना हुने तय गरिएको छ।
अध्यक्ष चन्दका अनुसार पूर्वनिर्धारित तालिकामा कभर्ड हलमा अन्य खेलहरूसमेत परेकाले मिति परिवर्तन गर्नुपरेको हो। प्रतियोगितासम्बन्धी थप विवरण तथा प्रत्यक्ष प्रसारणबारे जानकारी चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए।
यस लिगमा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।


