काठमाडौं। युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्यन म्युनिखले एटालान्टामाथि ४–१ को प्रभावशाली जित दर्ता गरेको छ।
खेलको २५औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बार्यनलाई अग्रता दिलाए। दोस्रो हाफमा बार्यन झनै आक्रामक बन्यो। ५४औँ मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरे भने ५६औँ मिनेटमा लेनार्ट कार्लले गोल थप्दै अग्रता फराकिलो बनाए।
७०औँ मिनेटमा लुइस डियाजले गोल गर्दै बार्यनलाई ४–० को बलियो स्थितिमा पुर्याए। खेलको अन्त्यतिर ८५औँ मिनेटमा लाजार सामार्जिचले अटालान्टाका लागि सान्त्वना गोल फर्काए।
यस जितसँगै बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले अब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल अप्रिल आठमा रियलको घरेलु मैदानमा हुने।
यस्तै जारी सिजनको क्वाटरफाइनल समिकरण पूरा भएको छ। पोर्चुगिज क्लब स्पोर्ट्ङि सीपीले इंग्लिस क्लब आर्सनल तथा पीएसजीले लिभरपुलसँग खेल्दा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग खेल्नेछ। पहिलो लेग अप्रिल ८ र ९ मा हुनेछ।


