जापान तेस्रोपटक एसियन कप च्याम्पियन


काठमाडाैं। एएफसी महिला एसियन कप महिला फुटबलको उपाधि फेरि एकपटक जापानले जितेको छ। शनिबार सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा सम्पन्न फाइनलमा जापानले घरेलु टोली अस्ट्रेलियालाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो।

खेलको सुरुआतदेखि नै अस्ट्रेलियाले आक्रामक खेल प्रस्तुत गर्दै दबाब बनाएको थियो। तर १७औँ मिनेटमा जापानकी मिडफिल्डर युई हासेगावाले दिएको पासमा माइका हमानोले उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाइन्।

त्यसपछि अस्ट्रेलियाले खेलमा फर्किने प्रयास जारी राख्यो। दोस्रो हाफभरि घरेलु टोलीले लगातार आक्रमण गर्दै जापानको पोस्ट समस्या गर्‍यो। क्याटलिन फोर्ड, साम केर र मेरी फाउलरले अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। खेलको अन्तिम समयमा एलाना केनेडीको हेडर समेत जापानकी गोलकिपर आयाका यामाशिताले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अग्रता जोगाइन्।

जापानले पनि केही अवसर गुमाएको थियो। रिको उएकीले दोस्रो हाफमा पाएका दुई अवसर सदुपयोग गर्न नसक्दा खेल अझ प्रतिस्पर्धात्मक बनेको थियो।

यस जितसँगै जापानले आफ्नो तेस्रो एसियन कप उपाधि जित्दै पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि हात पारेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको जापानले ६ खेलमा २९ गोल गर्दै केवल एक गोल मात्र बेहोरेको थियो।

फाइनलमा माइका हमानोको गरेको गोल प्रतियोगिताकै उत्कृष्टमध्ये एक मानिएको छ।

अस्ट्रेलियाका लागि भने हार पीडादायी रह्यो। खेलभरि राम्रो प्रदर्शन गरे पनि फिनिसिङ कमजोर हुँदा उनीहरू उपाधिबाट वञ्चित भए। घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसर गुम्दा टोली र समर्थक दुवै निराश बने।

यस प्रतियोगिताबाट शीर्ष ६ टोलीले आगामी वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपका लागि छनोट भएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको