काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरमाथि रोमाञ्चक जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टाइम्सले अन्तिम समयमा रिबाउण्डमा दुई अंक स्कोर गरेपछि कीर्तिपुरलाई ८१–७९ ले पराजित गरेको हो। खेलमा अधिकांश समयमा पछि परेको टाइम्सले अन्तिम समयमा बराबरी गर्न सफल भएको थियो। अन्तिममा एक पटक टाइम्सले अग्रता लिएपनि कीर्तिपुरले बराबरी गरेको थियो। तर अन्तिममा टाइम्सले पाएको मौकामा दुई अंक स्कोर गरेपछि खेल जित्न सफल भएको हो।
१२ सेकेण्ड समय बाँकी रहँदा टाइम्सका कप्तान सदिश प्रधानले हानेको थ्री प्वाइन्टको प्रयास सफल हुन सकेन त्यसैको रिबाउण्डमा कमल थापाले दुई अंक स्कोर गर्दै टाइम्सलाई जित दिलाए। टाइम्सका मनिष केसीले सर्वाधिक ३१ अंक स्कोर गरे। उनी म्यान अफ दि म्याच घोषित भए।
खेलमा कीर्तिपुरले पहिलो क्वाटर २०–१४ र दोस्रो क्वाटर २२–२० ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४२–३४ को अग्रता बनाएको थियो। तेस्रो क्वाटर टाइम्सले २०–१६ ले आफ्नो पक्षमा पारेपनि चौथो तथा अन्तिम क्वाटरअघिसम्म कीर्तिपुर ५८–५४ ले अघि थियो। तर निर्णायक क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २७–२१ ले अघि रह्यो। अन्तिम क्वाटरमा गरेको प्रदर्शन नै टाइम्सको जितमा निर्णायक बन्यो र दुई अंक अन्तरले खेल जितेको हो।
लिगमा टाइम्सको यो लगातार सातौं जित हो। ८ खेलमा ७ जित र १ हारकाट १५ अंक जोडेर टाइम्स अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


