काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा कर्णाली प्रदेश कमजोर प्रदर्शन गर्दै ३९.१ ओभरमा १५१ रनमै अलआउट भएको छ। सुरुआतदेखि नै दबाबमा परेको कर्णालीले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटरहरूले साथ दिन सकेनन्। विपिन रावलले ३२ रन तथा सुनिल धमलाले १९ रनको योगदान दिए। बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न समेत संघर्षरत देखिए।
बलिङतर्फ काेशीका प्रेम कामतले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। ज्ञानेंद्र श्रेष्ठले ३ विकेट लिँदा सुजन थपलियाले २ तथा विपिन महतोले १ विकेट लिए। कर्णालीको इनिङ्स धराशायी पार्न यी बलरहरू निर्णायक बने।


