काठमाडौं । हाउण्ड्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ।
हाउण्ड्सले ८ खेलबाट १३ अंक जोडेको छ। हाउण्ड्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २२–१०, २८–१५, ३४–२९, २१–१८ को प्रदर्शन गर्यो। हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २८ अंक स्कोर गरे। बुर्जा प्लेअर अफ दि म्याच घोषित भए।
मंगलबार राती भएको खेलमा गोल्डेनगेटले रोएललाई १०८–४६ को फराकिलो अन्तरले पराजित गरेको छ। लिगमा गोल्डेनगेटको यो सातौँ जित हो। गोल्डेनगेटले ८ खेलबाट १५ अंक जोडेको छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


