काठमाडौं। नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले शिक्षा र खेलकुद क्षेत्रमा रहेको राजनीतिकरण अन्त्य गरी दीर्घकालीन सुधारमा ध्यान दिने बताएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएपछि सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले विद्यालय पूर्वाधार सुधार, शिक्षक क्षमता अभिवृद्धि, छात्रवृत्ति व्यवस्थापन र निजी विद्यालयलाई व्यवस्थित गर्ने योजना प्राथमिकतामा रहेको बताए। साथै विद्यार्थीलाई सानैदेखि एआई, आईटी, स्वास्थ्य र खेलकुदसँग जोड्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख गरे।
खेलकुदतर्फ उनले सानै उमेरदेखि प्रशिक्षण र पोषणमा जोड दिँदै गुणस्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए। खेल र शिक्षा एकअर्काका पूरक भएकाले दुवै क्षेत्रलाई सँगै अघि बढाइने उनको भनाइ छ।
मन्त्री पोखरेलले विश्वविद्यालय सुधार र दीर्घकालीन कानुन निर्माणमा पनि ध्यान दिने बताउँदै खेलकुद निकायहरूमा अनुभव र दक्षताका आधारमा नेतृत्व चयन गरिने स्पष्ट पारे।


