टाईम्सको लगातार नवौँ जित


काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार नवौँ जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाईले पराजित गरेको हो।

टाईम्सले पहिलो क्वाटर २०–१८ र दोस्रो क्वाटर २०–१० ले आफ्नो पक्षमा पार्दै हाफ टाईमसम्म ४०–२८ को अग्रता बनाएको थियो। तेस्रो क्वाटर टईम्सले २०–१३ ले आफ्नो पक्षमा बनाउँदा चौथो क्वाटरमा १६–१३ को अग्रता बनाएको थियो। टाईम्सका मनीष केसी म्यान अफ दि म्याच घोषित भए।

टाईम्सले लगातार नवौँ जितपछि १० खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। नवौँ हारपछि प्लेबक्सको १० खेलबाट ११ अंक भएको छ। यस्तै शुक्रबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्लेबक्स एरेनालाई १०३–७४ ले पराजित गरेको थियो।

आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक ३५ अंक स्को, गरे। ९ खेलमा आठौँ जित हात पारेको आर्मि १७ अंकसहित दोस्रोमा छ। गुरुङ म्यान अफ दि म्याच घोषित भए।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको