बेङ्गलुरुको विजयी सुरुआत


काठमाडौँ। इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले विजयी सुरुआत गरेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा सनराइजर्स हैदराबादलाई बेङ्गलुरुले ६ विकेटले पराजित गर्‍यो।

सनराइजर्स हैदराबादले दिएको २०२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १५ दशमलव ४ ओभरमै ४ विकेट गुमाएर २०३ रन बनाउँदै सहज जित हात पारेको हो।

बेङ्गलुरुको जितमा विराट कोहलीले अविजित ६९ रनको अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए। त्यस्तै देवदत्त पडिक्कलले २६ बलमा ६१ रनको आक्रामक योगदान दिए भने कप्तान रजत पाटीदारले १२ बलमा ३१ रन थपे।

ओपनर फिल साल्ट भने ८ रनमै आउट भए। विकेटकिपर जितेश शर्माले खाता नै खोल्न सकेनन्। अन्त्यमा टिम डेभिडले अविजित १६ रन जोड्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

बलिङतर्फ डेभिड पेनले २ विकेट लिए भने जयदेव उनादकट र हर्ष दुबेले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो।

हैदराबादका कप्तान ईशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ३८ बलमा ८ चौका र ५ छक्का सहित ८० रन बनाए। सुरुवाती क्रममा ट्राभिस हेड (११) र अभिषेक शर्मा (७) छिट्टै आउट हुँदा टोली दबाबमा परेको थियो। नितिश कुमार रेड्डी पनि १ रनमै आउट भए।

मध्यक्रममा हेनरिख क्लासेनले २२ बलमा ३१ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे। त्यसपछि अनिकेत वर्माले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४३ रन बनाएर टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। सलिल अरोरा (९) र हर्ष दुबे (३) ले सानो योगदान दिए भने अन्त्यतिर डेभिड पेन (६) र जयदेव उनादकट (४) अविजित रहे।

बलिङतर्फ बेङ्गलुरुका जेकब डफीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। त्यस्तै रोमारियो शेफर्डले पनि ३ विकेट लिए भने भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयश शर्माले समान १–१ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको