बागमती १८० रनमा समेटियो


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशविरुद्ध बागमती प्रदेश १८० रनमा समेटिएको छ।

रामजानकी बहुउद्देश्यीय रंगशाला जनकपुरमा टस हारेर पहिले ब्याटिङ थालेकाे बागमती ३८.४ ओभरमै अलआउट भएको हो। टोलीका विवेक मगरले सर्वाधिक ५६ रन बनाउँदै अर्धशतक प्रहार गरे। उनले ८० बलमा २ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि शीर्षक्रमका ब्याटरले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो स्कोरमा बनाउन सकेनन्। शिवम तिवारीले १८, शुभ कंसाकारले २०, पवन थापाले २२ तथा इशान पाण्डेले २७ रन जोडे।

मध्यक्रममा उत्तम मगर शून्यमै आउट हुँदा बागमती दबाबमा परेको थियो। त्यसपछि विकेट निरन्तर झर्दा टोली ठूलो स्कोर बनाउनबाट वञ्चित रह्यो। कप्तान सन्दिप लामिछानेले समेत २ रनमै रनआउट भए।

कर्णालीका दिवान पुनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। यस्तै प्रकाश जैसी, दिपेन्द्र रावत र निश्छल रावलले समान २–२ विकेट हात पारे।

बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीको टोली केहि बेरमा मैदान उत्रनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको