काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानले नामिबियामाथि रोमाञ्चक जित दर्ता गरेकाे छ।
नामिबियाकाे विन्डहोक मैदानमा शनिबार सम्पन्न खेलमा ओमानले घरेलु टाेलीमाथि ३ विकेटको जित हात पारेको हाे। नामिबियाले दिएकाे २६९ रनको लक्ष्य पछ्याएकाे ओमानले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
ओमानका लागि हम्माद मिर्जाले शतक प्रहार गरे। उनले १२८ बलमा १२ चौका र एक छक्काको मद्दतमा अविजित ११२ रन बनाए। वासिम अलीले ४९ बलमा ३ चौका र २ छक्कासहित ६२ रनको महत्वपूर्ण पारी खेले भने मुजिबुर अलीले ४३ रन जोडे। कप्तान जतिन्दर सिंह ११ र पृथ्वीकुमार माछी ७ रनमा आउट भए।
नामिबियाका लागि म्याक्स हेइङ्गोले ३ विकेट लिए भने ज्याक ब्रासेलले २ विकेट हात पारे। गेरहार्ड इरास्मसले पनि २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको थियो।
नामिबियाका कप्तान गेरहार्ड इरास्मसले ५५ बलमा ४ चौका र १ छक्कासहित ५४ रन बनाए। विकेटकिपर जेन ग्रीनले २२ बलमा तीव्र ४२ रन जोडे भने विलेम माइबर्गले ४३ र लौरिन स्टिनक्याम्पले ३२ रन बनाए। अन्त्यतिर डिलन लाइकरले १७ बलमा अविजित ३० रन जोड्दै टोलीलाई मजबुत योगफलसम्म पुर्याए।
ओमानका लागि हस्नैन शाहले ३ विकेट लिए भने शकील अहमद र ज्यतेन रामानन्दीले समान २–२ विकेट लिए। वासिम अलीले १ विकेट हात पारे। याे जितसँगै २२ खेलबाट २७ अंक जाेडेकाे ओमान चाैथाे तथा पराजित नामिबिया २५ खेलबाट १९ अंकसहित छैटौं स्थानमा छ।
२० खेल खेलेको नेपाल सातौं स्थानमा रहँदा २४ खेलबाट ३६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ।