शीर्ष स्थानको बार्यनलाई १२ अंकको अग्रता

काठमाडौं। शीर्ष स्थानकाे बायर्न म्युनिखले रोमाञ्चक पुनरागमन गर्दै एससी फ्राइबर्ग माथि ३–२ को कठिन जित निकालेको छ।

जर्मन बुन्डेसलिगा अन्तर्गत युरोपा पार्क स्टेडियममा शनिबार सम्पन्न खेलमा बायर्नले अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४६औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै फ्राइबर्गलाई १–० को अग्रता दिलाए। त्यसपछि ७१औँ मिनेटमा लुकास होलरले अर्को गोल थप्दै घरेलु टोलीलाई २–० को बलियो अवस्थामा पुर्‍याए।

तर त्यसपछि बायर्न खेलमा फर्कियो। ८१औँ मिनेटमा टम बिस्चोफले टाढाबाट सुन्दर प्रहार गर्दै स्कोर २–१ बनाए। इन्जुरी समयको दोस्रो मिनेटमा बिस्चोफले पुनः गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

खेलको नाटकीय अन्त्य ९०+९औँ मिनेटमा भयो, जब लेनार्ट कार्लले अल्फोन्सो डेभिसको पासमा नजिकैबाट गोल गर्दै बायर्नलाई ३–२ को जित दिलाए।

खेलभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। फ्राइबर्गका नोआ अतुबोलुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे पनि अन्तिम क्षणमा बायर्नको दबाब थेग्न सकेनन्।

यस जितसँगै बायर्न म्युनिख २८ खेलबाट ७३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको