काठमाडौं। शीर्ष स्थानकाे बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले २–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।
खेलको ३९औँ मिनेटमा जुलियानो सिमियोनेले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए। तर पहिलो हाफकै ४२औँ मिनेट मार्कस रासफोर्डले डानी ओल्मोको पासमा गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा निको गोन्जालेजले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भयो, जसको फाइदा बार्सिलोनाले दोस्रो हाफमा उठायो।
खेलको निर्णायक क्षण ८७औँ मिनेटमा आयो, जब रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।
यस जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानको रियल म्याड्रिडभन्दा ७ अंकले अघि बढेको छ। ३० खेलबाट बार्सिलाेनाकाे ७६ अंक छ। पराजित एट्लेटिको समान खेलबाट ५७ अंक छ।


