काठमाडाैं। श्री कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ। श्री कालिका पुरुष÷महिला दुवैमा पहिलो भयो।
भक्तपुर जिल्ला हक्की संघको आयोजनामा भक्तपुरस्थित मिड भ्याली कलेजमा भएको प्रतियोगिताको पुरुष÷महिला दुवैमा गुन्डु इङलिस स्कुल दोश्रो तथा जनता मावि तेश्रो बने। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए।
पुरुषमा श्री कालिकाका मोहन विक उत्कृष्ट खेलाडी, श्री कालिकाका रोमन राणा उत्कृष्ट गोलरक्षक, जनताका अमितकुमार महतो उत्कृष्ट डिफेन्डर तथा श्री कालिकाका मोहन पुन र विवेक विक (दुवै १४ गोल) सर्वाधिक गोलकर्ता भए।
महिलामा श्री कालिकाकी रोजिना राणा उत्कृष्ट खेलाडी, जनताकी प्रियाकुमारी राय उत्कृष्ट गोलरक्षक, श्री कालिकाकी राइसा खातुन उत्कृष्ट डिफेन्डर र जनताकी प्रीति दास (१२ गोल) सर्वाधिक गोलकर्ता बने। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


