बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनसिप आज


काठमाडौँ। नेपालमा समावेशी खेलकुदको प्रवर्द्धन तथा अपाङ्ग खेलाडीहरूको क्षमताको विकास गर्ने उद्देश्यसहित “बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनसिप–२०८३” आयोजना गरिने भएको छ। निर्मला फाउन्डेसनको पहलमा आयोजना हुन लागेको प्रतियोगिताका लागि बागमती प्रदेश सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयलकाे सहयाेगमा हुन लागेकाे हाे।

प्रतियोगितामा इम्प्याक्ट हुप्स एकेडेमी, विश्राम फाउन्डेसन तथा पुनर जीवन फाउन्डेसन नेपालको सहयाेग रहेकाे छ। प्रतियोगिता जेठ २ गते आज दिउँसो १२ः३० बजेदेखि काठमाडौँस्थित हाइवे फुटसलमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगिता एकदिने प्रतिस्पर्धात्मक ढाँचामा सञ्चालन गरिनेछ। प्रतियोगितामा पुरुष तथा महिला अपाङ्ग फुटसल खेलाडीहरूको सहभागिता रहनेछ भने विजेता टोलीलाई पुरस्कार प्रदान गरिनेछ। साथै सहभागी खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहनसमेत गरिने बताइएको छ।

निर्मला फाउन्डेसनले यसअघि २०८२ साल मंसिर २७ गते नेपालकै पहिलो महिला अपाङ्ग फुटबल टोली गठन गरेको थियो। त्यसयता अपाङ्ग महिला खेलाडीहरूलाई नियमित प्रशिक्षण दिँदै आएको फाउन्डेसनले जनाएको छ। संस्थाले भविष्यमा नेपाललाई अन्तर्राष्ट्रिय स्तर, विशेषगरी महिला अपाङ्ग फुटबल विश्वकप २०३० मा प्रतिनिधित्व गराउने लक्ष्यसमेत राखेको उल्लेख गरेको छ।

प्रतियोगिताले अपाङ्ग खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेलकुदमा अवसर उपलब्ध गराउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा समाजमा समावेशी चेतना विस्तार गर्ने विश्वास लिइएको छ। साथै खेलमार्फत सामाजिक सद्भाव, सहकार्य र समानताको सन्देश प्रवाह गर्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको