काठमाडाैं। पाँचौं ‘ए’ स्टार नेपाल बास्केटबल लिग २०२६ को क्वार्टर फाइनल खेलहरू आउँदो आइतबार (३२ जेठ) देखि सुरु हुने भएका छन्। नेपाल बास्केटबल लिग युकेले महिला बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरिरहेको यस लिगमा कुल ११ पुरुष र २ महिला टोलीले प्रतिस्पर्धा गरेका थिए।
आगामी जुन १४ (आइतबार) का दिन फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म क्वार्टर फाइनल खेलहरू सञ्चालन हुनेछन्। लिग संयोजक सार्थक गुरुङका अनुसार उक्त नकआउट चरणमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्वार्टरफाइनलबाट छनोट भएका चार टोलीले सोही भेन्युमा आयोजना हुने सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल खेलहरू जुलाई ४ मा लन्डनको ब्रुनेल युनिभर्सिटी स्पोट्र्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने तय भएको छ।
लिगको हालसम्मको अंक तालिका (स्ट्यान्डिङ) अनुसार स्यान्डहस्र्ट निक्सले प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको छ। त्यस्तै, ग्रिनफोर्ड नाइट्स दोस्रो, डीबीएस तेस्रो र ह्याम्पशायर हुपर्स चौथो स्थानमा रहँदै शीर्ष चारमा पर्न सफल भएका छन्। यस्तै कोलचेस्टर एलिट, बलर्स स्ल्यामर्स, ग्रीनफोर्ड रोभर्स र नर्थोल्ट फ्लेमर्सले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्दै आठ टोलीको नकआउट लाइनअप पूरा गरेका छन्।
विधागत प्रदर्शनतर्फ, प्रतिखेल औसत २९.४ अङ्क (एएन्) जोड्दै आयुष सिंह लिगको सर्वाधिक स्कोरर बनेका छन्। क्याल्भिन ची २७.० एएन् सहित दोस्रो र सुदन गुरुङ २६.८ एएन् का साथ तेस्रो स्थानमा रहे। थ्री–पोइन्ट सुटिङतर्फ अली अदनानले सर्वाधिक ४३ वटा थ्री–पोइन्टर्स प्रहार गर्दै पहिलो स्थान बनाए भने प्रशांत राईले ३२ र लोमस गुरुङले २८ थ्री–पोइन्टर्स सहित क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
नेपाल बास्केटबल युकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको अटल उत्साह र दर्शकहरूको अत्यधिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन्। उनले मुख्य प्रायोजकहरू ‘ए’ स्टार मोर्टगेजेस र ए स्टार फाइनान्सियल सोलुसन्स युके लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद समेत ज्ञापन गरे।