काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन्। न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ।
गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो। टोली क्रोएसियाविरुद्ध शतब्ध बन्यो। त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो। यसपाली ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ।
उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ। कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो।
गत वर्ष ब्राजिलियन फुटबलको इतिहास फेरिएको थियो। जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। योसँगै एन्सिलोटी ब्राजिलियन फुटबल इतिहासमा पहिलो स्थायी विदेशी प्रशिक्षक बने।
तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भएजति सबै उपाधि जितेका छन्। अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्राजिल आएका छन्।
विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्राजिलले ११४ मध्ये ७४ खेलमा विजयी हासिल गरेको छ। यसबीच ब्राजिलले पाँचपटक प्रतिष्ठित ट्रफी चुम्यो। यद्यपि २४ वर्ष भइसक्यो, ब्राजिलले विश्वकपको उपाधि जित्न नसकेको।
ब्राजिलले यसअघि पनि २४ वर्षको पखाईपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो। सन् १९७० मा ब्राजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो। त्यसपछि चौथोपटक च्याम्पियन हुन ब्राजिलले १९९४ सम्म कुर्नुपर्यो। त्यो पनि अमेरिकाको माटोमा। यसपाली त्यही संयोग जुरेको छ।
विश्वकप इतिहासमा ब्राजिलले आठमध्ये सातपटक अफ्रिकन राष्ट्रलाई हराएको छ। ब्राजिलले एक मात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो। क्यामरुनले समूह चरण्मा ब्राजिललाई १–० ले हराएको थियो। मोरक्को ब्राजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ।
चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अप्रिकी टोली बनेर इतिहास रचेको थियो। सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपाली प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रुपमा हेरिएको छ।
चाखलाग्दो विषय के छ भने मोरक्कोले आफ्नो सुरुआती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो। मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो। मेडन अनुभवमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गर्यो।
अमेरिका १९९४ मोरक्कोका लागि विर्सनलायक रह्यो। टोलीले समूहका तीनवटै खेलमा एक गोलको अन्तरले पराजय बेहोर्यो।
एट्लास लायन्सले पछिल्ला वर्षहरुमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रुपमा उभ्याएको छ। सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ। अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ। नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि।
ब्राजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ। २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले स्तब्ध भएको थियो।
ब्राजिलका उच्च गोलकर्ता नेइमार अझे पनि ‘काल्फ इन्जुरी’को समस्यासँग जुधिरहेका छन्। उनी आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ। त्यस्तै राइटब्याक वेस्ली मांसपेशी समस्याका कारण टोलीबाट बाहिरिएका छन्। उनको ठाउँमा एट्लान्टाका मिडफिल्डर एडर्सनले मौका पाएका छन्।
प्रिमियर लिगका खेलाडी एलिसन बेकर, गेब्रियल म्यागलहेज र ब्रुनो गीमरेज अनि ला लिगाका भिनिसियस जुनियर र राफिन्हा मोरक्कोविरुद्ध पहिलो रोजाईका बलियो दाबेदार हुन्। कप्तान अक्राफ हकिमी र भिनिसियसका सहकर्मी ब्राहिम डियाज मोरक्कोका ‘प्लेयर्सं टु वाच’ हुन्।
स्कटल्यान्ड र हाइटीमा विश्वकपको उत्साह
उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ। यसपाली आफ्नै महादेशमा भइरहेको विश्वकपमा हाइटीको एउटै लक्ष्य हुनेछ, त्यो हो पहिलो अनुभवलाई सुधार्ने। जर्मनी १९९४ मा हाइटीले तीनवटै खेलमा हार बेहोर्दा कूल १४ गोल खाएको थियो।
कोनकाकाफ छनोटको १० मध्ये ६ खेलमा हाइटीले विजयी हासिल गरेको थियो। नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै हाइटी विश्वकपमा फर्किएको हो।
विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हाइटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ। विश्वकपअघि हाइटीले पुछारको न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित हासिल गर्यो।
स्कटल्यान्ड आफ्नो नवौं विश्वकप अनुभव लिँदैछ। पछिल्लोपटक स्कटल्यान्डले १९९८ फ्रान्स विश्वकप खेलेको थियो। युइएफए छनोटमा ६ मध्ये चार खेल जितेको स्कटल्यान्डलाई मोरक्को र नर्वेसँगै ‘डार्क हर्स’का रुपमा हेरिएको छ। स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्व फुटबलका चर्चित खेलाडी रहेको स्कटल्यान्ड बढीमा दोस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ।
विश्वकपअघि स्कटल्यान्डले १० खेलाडीमा समेटिएको कोरासाओलाई ४–१ ले हराएको थियो। त्यसपछि स्कटल्यान्डले बोलिभियालाई ४–० ले हरायो।
अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डसँग यसपाली नकआउट पुग्ने राम्रो अवसर छ। यसका लागि स्कटल्यान्डले तुलनात्मक रुपमा कमजोर मानिएको हाइटीलाई राम्रो अन्तरले हराउन सक्नुपर्नेछ। खेल नेपाली समयअनुसार आइतबार बिहान ६ः४५ बजे हुनेछ।